फाइल तस्बिर
काठमाडौं। भोटेकोशी र लिपिङ खोलाको पुल बगाएको ठाउँमा तुइन जडान गरेर चीनबाट सामान ल्याइएको छ। असोज ११ र १२ मा आएको बाढीले तातोपानी नाकाको नेपाल र चीन जोड्ने भोटेकोशी र लिपिङ खोलाको पुल बगाएको ठाउँमा तुइनमार्फत चीनबाट फलफूललगायतका सामान नेपाल ल्याइएको हो।
छिट्टै बिग्रन सक्ने फलफूललगायत सामान लिपिङसम्म ल्याएर गाडीबाट पल्टी गर्ने, त्यसपछि तुइनमा तारेर काठको अस्थायी पुल हुँँदै बोकेर कोदारीको पहिरोसम्म ल्याउने र वारिको गाडीमा हाल्ने काम भइरहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार पुल भत्किएको ठाउँमा तुइन र काठको कामचलाउ पुल निर्माण गरिएको छ। बेलिब्रिज जडानका लागि सामान समेत पुर्याइएको कार्यालयले जनाएको छ।
बाढीपहिरोका कारण ठप्प भएको रसुुवागढी नाका भने अझै खुलेको छैन । उक्त क्षेत्रका भन्सारका कार्यालयहरूका अनुसार तातोपानी नाका हुँदै आउन लागेको करीब ४० कन्टेनर सामान चीनतर्फ नै रोकिएका छन् । रसुवागढी नाकाबाट आउन लागेको ३०० भन्दा बढी कन्टेनर सामान तिब्बतको केरुङमै अड्किएका छन् ।