काठमाडौं। गुल्मी र पर्वत जोड्ने कालीगण्डकी नदीमा पुल निर्माण सम्पन्न भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका पूर्तिघाट र पर्वतको बियादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदीमा पुल निर्माण गरिएकाे हाे।
२०७६ साल चैत ३० गते कार्य सम्पन्न गर्नेगरी २०७३ साल भदौ ३१ गते तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंबीच १४ करोड ६७ लाख ७६ हजारमा पुल निर्माणका लागि सम्झौता भएको थियो । पुल निर्माणका लागि सम्झौता भएको ८ वर्षपछि बल्ल निर्माण कार्य पूरा भएको हो।
सम्झौता भएको कार्यालय नै खारेज भएर तत्कालीन समयमा सो कार्यालयसँग सम्झौता भएका योजना हेर्ने जिम्मा मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीले पाएको थियो । २०७९ सालमा उक्त पुलको सडक डिभिजन कार्यालय पाल्पामार्फत कार्यान्वयन हुने गरी दायित्व हस्तान्तरण भएको हो ।