काठमाडौं। मुगुको रारा ताल क्षेत्रमा रारा रिसोर्ट निर्माण हुने भएको छ। रिसोर्ट निर्माणका लागि नेपाल सरकारले प्रारम्भिक अध्ययन अनुमति (आईईई) दिएसँगै निर्माण प्रक्रिया अघि बढेको हो।
पर्यटन विभागले सोमबार रारा क्षेत्रमा १९ वटा भवनमा ६२ कोठा र ९८ शय्या क्षमता रहने गरी लक्जरी रिसोर्ट निर्माण गर्न आईईई अनुमति प्रदान गरेको छ।
अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स रिसोर्ट प्रालिको संयुक्त लगानीमा बन्ने रिसोर्टको लागत २ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ। उक्त रिसोर्ट मुगु छायानाथ रारा नगरपालिका–९ मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने छ ।