काठमाडौं। वीपी राजमार्गको धुलिखेल–भकुण्डेबेंसी खण्डमा अब २४सै घण्टा सवारी साधन सञ्चालन हुने भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गर्दै रातिमा बन्द गरिएको वीपी राजमार्गको धुलिखेल–भकुण्डेबेंसी खण्डमा अब २४ सै घण्टा सवारी साधन सञ्चालनमा आएको जनाएको हो।
यसअघि असोज ३० गतेदेखि सडक मर्मत भइरहेकाले जोखिम हुने भन्दै कार्यालयले साँझ ६ देखि बिहान ४ बजेसम्म सडक बन्द गरेको थियो।
धुलिखेल–भकुण्डेबेंसी खण्डमा रातिको अवरोध हटाइएपनि भकुण्डे–खुर्कोट खण्डमा अझै पनि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ।
गत असोज ११ र १२ गतेको वर्षापछि आएको बाढीपहिरोले वीपी राजमार्गको विभिन्न ठाउँमा सडक बगाएको, भत्किएको र चर्किएको थियो। सडक बगाएको ठाउँमा नयाँ ट्रयाक खोलेर र भत्किएका ठाउँमा मर्मत गरेर सडक अस्थाइ रुपमा सञ्चालनमा ल्याइएपनि जोखिम कायमै रहेकाले मर्मत कार्य भइरहेका स्थानमा राति सवारी साधन सञ्चालनमा रोक लगाएको कार्यालयले जनाएको छ।