मोरङ। कोशी प्रदेशमा गत असोजको बाढी पहिरोले सडक र पुलमा मात्र साढे चार अर्ब भन्दा बढीको क्षति भएको छ। असोज १० गतेदेखि १२ गतेसम्मको वर्षाका कारण आएको बाढी पहिरोले प्रदेशका सडक र पुलमा मात्र साढे ४ अर्ब भन्दा बढीको क्षति भएको हो।
बाढीपहिरोले ध्वस्त बनाएका ती संरचनाहरू पुनर्निर्माण गर्न प्रदेश सरकारले मर्मत तथा पुनर्निर्माण कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने भएको छ।
प्रदेश मन्त्रिपरिषदको बुधबारको बैठकले कटौती गर्न नमिल्ने रकम बाहेक प्रदेश सरकार र वित्तिय समानीकरण अनुदान स्रोतमा चालु खर्च शीर्षकहरूमा विनियोजन भएको रकमबाट १० प्रतिशत पुग्ने गरी सबै मन्त्रालयले बजेट समर्पण गर्ने निर्णय भएको बताइएको छ।
कोशी प्रदेश सरकारले यो कोषमा मन्त्रीहरूको १० दिनको तलब जम्मा गर्ने त्यस्तै सांसदहरूलाई सम्बन्धित दलमार्फत् सहयोग गर्न आग्रह गर्ने र कर्मचारी तथा अन्य सरोकारवालाहरूलाई पनि कोषमा सहयोग गर्न आह्वान गर्ने निर्णय भएको छ।