काठमाडौं। बाढीले क्षतिग्रस्त बनेको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढीले क्षति पुर्याएको प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी शुक्रबार दिउँसोबाट सञ्चालनमा ल्याइएको हो।
नेपाल विद्युत प्राधिकरणले आफैंसँग रहेको इआरएस संरचनाको प्रयोग गरी उक्त प्रसारण लाइन सञ्चालनमा ल्याएको हो।
तामाकोशी नदीमा आएको बाढीले रामेछापको मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो। टावर बगेपछि ४ वटा टावरको तारमा पनि क्षति पुगेको थियो।
खिम्ती–लामोसाँघु प्रसारण लाइन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण प्रसारण लाइन हो।