म्याग्दी। बेनी-पात्लेखेत सडक आयोजना अन्तर्गत एक्लेपिपल–जम्रेनी सडक कालोपत्र गरिएको छ। बेनी नगरपालिकाले बेनी नगरपालिका–६ को एक्लेपिपलबाट जम्रेनी जाने सडकमा सात सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्र गरेको हो।
नगरपालिकाले सडक कालोपत्र सहित १२५ मिटर ढलान, सात सय मिटर पानी निकासका लागि नाली र छ सय मिटर पर्खाल निर्माण गरेको छ। २०५६ सालमा निर्माण भएको उक्त सडक २५ वर्षपछि कालोपत्र भएको छ।
सडक कालोपत्र लगायतका कामका लागि गत आर्थिक वर्ष २०८०/८१ मा एक करोड ३४ लाख ६६ हजारमा ठेक्का लगाइएको थियो।
यो सडकले बेनी नगरपालिका–६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोडेको छ।