काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् । भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको उद्घाटन गर्दै शनिबार पौडेलले सरकारले विमानस्थल निर्माणमा अवरोध गरेको आरोप लगाएका हुन् ।
पौडेलले विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरेका छन् । विमानस्थलको कामलाई अघि बढाउनका लागि एडीबीसँग शीघ्र सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि उनले सरकारलाई आग्रह गरे ।
उनले विमानस्थलको दोस्रो चरणको काम अविलम्ब गराउन दबाबकारी भूमिका निर्वाह गर्न पनि स्थानीयबासीलाई आह्वान गरे ।
पौडेलले भने, ‘यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब गर्यो भने हाम्रा निम्ति मान्य हुनेछैन। हामी सशक्त ढंगले जवाफ दिनेछौँ । सेकेन्ड इन्टरनेशनल एयरपोर्टको सेकेन्ड फेजको काम सम्पन्न गर्नका लागि सरकारलाई विनाआनकानी ‘काउन्टर पार्ट फण्ड’ सुनिश्चित गर्न, एडीबीसँग यथाशिघ्र सम्झौंता गर्न र नयाँ ढंगले सेकेन्ड फेजको काम अघि बढाउनका निम्ति हामीले दबाबकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ ।