काठमाडौं। चितवनको भरतपुर महानगरपालिकाको पुल्चोक–गोन्द्राङ ६ लेन सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। महानगरकी प्रमुख रेणु दाहालले सामाजिक सञ्जालमार्फत उक्त सडक निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेको जानकारी दिएकी हुन्।
एशियाली मापदण्डमा निर्माण भइरहेको सडकमा अहिले व्यवस्थित पिच, भूमिगत बिधुतीकरण, स्मार्ट सड़क बत्ती, हरियाली सहित सौन्दर्यकरणको काम भइरहेको छ।
नागरिकको तर्फबाट पनि यसको जिम्मेवारी लिनुपर्छ भनेर महानगरले यस सडकसँग जोडिएका वडाहरू र दर्जनौं टोल विकास संस्थाका पदाधिकारीहरूसंग छलफल गरेको प्रमुख दाहालले बताइन्। छलफलमा सम्बन्धित टोलहरूले आ–आफ्नो क्षेत्रको सरसफाई, हरियाली र संरक्षणमा सकृयतापूर्वक लाग्ने प्रतिबद्धता जनाएको समेत उनले बताइन्।
सडकका दायाँबायाँका घरधनि र होटल तथा व्यवसायीलाई फोहाेरको गाडी नआउँदै घर भित्रको फोहर सडकमा ल्याएर नराख्न समेत प्रमुख दाहालले आग्रह गरेकी छन्।