काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गरिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि विमानस्थल विस्तार कार्य सुरु गर्ने भएको हो।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले करिब १५ अर्ब लागतमा विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गर्ने भएको हो। टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ।
विमानस्थल विस्तारका लागि प्राधिकरणले पाँच महिनासम्मका लागि दैनिक १० घण्टा उडान बन्द गर्ने भएको छ। राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई विशेष अनुरोध समेत गरेको छ।