काठमाडौं। चीनको सिचुवान एयरलाइन्सले आज पोखरामा दोस्रो पटक उडान गर्ने भएको छ। एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १३४ यात्रुसहित चार्टर्ड उडान गर्न लागेको हो।
कात्तिक २४ मा पोखरामा हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति चार्टर्ड उडानमार्फत पोखरा आउन लागेका छन्।
चीनको कुनमिङ विमानस्थलबाट आउने एयर बस ३१९ विमान बिहीबार दिउँसो २ बजेर ४० मिनेट जाँदा पोखरामा अवतरण गर्ने र अपराह्न ४ बजेर १० मिनेट जाँदा काठमाडौंका लागि उड्ने बताइएको छ।
सिचुवानले पहिलो पटक १७ महिनाअघि २०८० असार ६ मा पोखरामा चार्टर्ड उडान गरेको थियो।