काठमाडौं। बाढीपहिरोले ठूलो क्षति पुर्याएको वीपी राजमार्ग स्थायी रुपमा पुनर्निर्माणका लागि भौगर्भिक अध्ययन भइरहेको छ। एक महिनाभित्र सक्नेगरी भौगर्भिक अध्ययनको काम भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको हो।
गत असोज दोस्रो साताको बाढी र पहिरोले वीपी राजमार्गको विभिन्न ठाउँमा सडक बगाएको तथा भत्किएको थियो। काभ्रेभन्ज्याङ–नेपालथोक खण्डको १२ किमि सडकमा ८.७ किमि सडक खण्ड रोशी खोलाले बगाएको छ भने ३.३ किमि सडक कतै भासिएको र कतै चिरा परेको छ । अहिले अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन भइरहेको छ ।
उक्त सडक मर्मत गर्नका लागि ७ अर्बसम्म लाग्ने सडक विभागको प्रारम्भिक अनुमान छ। नेपाल सरकार आफ्नै लगानीमा वा दातृ निकायको सहयोगमा बनाउने भन्नेबारे अझै निर्णय भएको छैन। अनौपचारिक रूपमा सडक मर्मतसँगै स्थायी निर्माण गर्नेबारे विश्व बैंक, एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई नेपाल सरकारले अनुरोध गरेपनि हालसम्म कहिँबाट कुनै प्रतिक्रिया आएको छैन।