काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थल मर्मतका लागि भोलिदेखि पाँच महिनासम्मका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिने भएको हो।
विमानस्थल १० घण्टासम्म बन्द गरिने भएपछि नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ ।
नेपाल एयरलाइन्सले काठमाडौँ–नारिताको राति ११ः५० को उडानलाई ९ः१५ बजे सारेको छ भने ११ बजेको काठमाडौँ–दोहाको उडान ९ः३० मा हुने भएको छ। काठमाडौँ–दुबईको राति ११ः१५ को उडान परिवर्तन गरेर ९ः३५ मा तय गरिएको छ। यससँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौँ अवतरण हुने समय पनि परिवर्तन भएको छ ।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले करिब १५ अर्ब लागतमा विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत विस्तार गर्ने भएको छ। टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएको छ।