काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज तीन एयरलायन्सले उडान थाल्ने भएका छन्। आज एकै दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई विदेशी र एक स्वदेशी एयरलायन्सले उडान थाल्ने भएका हुन्।
दुई वर्षअघि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनसँगै उडान थालेको कुवेतको जजिरा एयरवेज आज बिहान विमानस्थलमा अवतरण गरेको छ। सुरुवातमा १० महिना उडान गरेर बन्द गरेको जजिराले आजदेखि पुन: उक्त विमानस्थलबाट उडान सुरु गर्ने भएको हो। जजिराले मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान भर्ने तालिका रहेको छ।
आज दिउँसोबाट फ्लाई दुबईले पनि गौतमबुद्ध विमानस्थलबाट उडान सुरु गर्दैछ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्नेछ । फ्लाई दुबईले यहाँबाट साताका सातैदिन उडान गर्ने बताइएको छ।
त्यसैगरी स्वदेशि एयरलायन्स नेपाल एयरलायन्सले आज साँझबाट काठमाडौं–भैरहवा–दुबई उडान सुरु गर्ने भएको छ। नेपाल एयरलायन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तालिका रहेको छ।