काठमाडौं। ताप्लेजुङको पाथीभरा मन्दिर पुग्ने केवलकार निर्माणका लागि शिलान्यास गरिएको छ। शुक्रबार संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा बोल्दै मेयर मादेनले पाथीभरा केवलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको, र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशीढुङ्गा बन्ने बताउँदै केवलकार निर्माण कार्य द्रुत स्तरमा अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने बताए ।
शिलान्यास कार्य भइसकेको र अब तीव्र गतिमा काम सुरु हुने निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनले जनाएको छ। कम्पनीले अबको १५ महिना भित्र केबलकार चड्न पाइने समेत बताएको छ।