काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा नियन्त्रण गर्न सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ। प्राधिकरण, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरुका प्रतिनिधिको आजको बैठकमा हवाई भाडा नियन्त्रण गर्न पाँच बुँदे सहमति भएको हो।
बैठकले हवाइ टिकटको मूल्यसूची तोक्ने र सार्वजनिक गर्ने तथा ट्राभल एजेन्सीसँग टिकट बेच्ने सम्झौता गर्दा निश्चित परिमाणमामात्रै गर्ने निर्णय गरेको छ।
त्यसैगरी बैठकले एयरलाइन्स कम्पनीहरुले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रुपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गरिदिएको छ । हवाइ भाडादर नियन्त्रण गर्ने जिम्मेवारी एयरलाइन्स सञ्चालकको हुने समेत निर्णय भएको छ ।
एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता बमोजिमको शर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरि हवाई भाडादर कायम गर्ने सहमति भएको छ ।
हवाई भाडासम्बन्धी गुनासो सुन्ने व्यक्तिको रुपमा क्यानले प्राधिकरणका वरिष्ठ अधिकृत विष्णुप्रसाद पौडेललाई तोकेको छ।