काठमाडौं। लुम्बिनी विकास कोषको लागि आर्थिक वर्ष २०८१/८२ को बजेट साढे ७७ करोड पारित गरिएको छ। कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले ७७ करोड ५५ लाख ९२ हजारको आयव्यय अनुमानित बजेट पारित पारेको हो।
बजेटमा आन्तरिकतर्फ ३२ करोड ५५ लाख ९२ हजार र सरकारको अनुदान ४५ करोड गरी आम्दानी खर्चको अनुमान गरिएको छ।
बजेटमा आयतर्फ दर्शनार्थीको सङ्ख्या बढाउने, दियो बत्तीको सेवालाई थप वृद्धि विस्तार गर्ने, उपहार, दान तथा चन्दा व्यवस्थापन गर्ने, काठ लिलाम बिक्री, पार्किङ, लुम्बिनी प्रवर्द्धनात्मक सामग्री उत्पादन र वितरणमा प्राथमिकता दिएको छ। त्यसैगरी व्ययतर्फ लुम्बिनी गुरुयोजनाको कार्यान्वयन, युनेस्को विश्व सम्पदा कमिटीका सुझाव कार्यान्वयन, पूर्वाधार निर्माण, तिरौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने र स्थानीय तहसँगका सहकार्य व्यय गर्ने योजना प्राथमकितामा छन् ।