काठमाडौं। राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम कोरला सडक अन्तर्गत हालसम्म ११ वटा पुल निर्माण सम्पन्न भएको छ। बेनी–जोमसोम कोरला सडक अन्तर्गत २४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा हालसम्म ११ वटा निर्माण सम्पन्न भएको हो।
त्यसैगरी यस सडक अन्तर्गत तीन वटा पुल निर्माणाधीन छन् भने पाँच वटाको ठेक्का तोडेको र पाँचवटा पुल निर्माणको प्रक्रियामा रहेको आयोजनाले जनाएको छ।
दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/०७४ देखि शुरु भएको बेनी–जोमसोम कोरला सडक योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ। यो सडक आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य राखेर सुरू गरिएकाे थियाे।
एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाले जनाएको छ।