काठमाडौं। नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाको निर्माण व्यवसायीलाई सरकार र परामर्शदाता कम्पनीले अन्तिम चेतावनी दिएका छन्। सरकार र परामर्शदाता कम्पनीले सडक विस्तार कार्य ढिलाइ गरेको भन्दै निर्माण कम्पनीलाई ठेक्का तोड्नुअघिको प्रक्रियाका रूपमा दिनुपर्ने अन्तिम चेतावनीस्वरूप नोटिस टु करेक्ट(एनटीसी) पठाएको हो।
चेतावनी पत्रमा मंसिर २५ भित्र एकतर्फी रूपमा ७० प्रतिशत कालोपत्र हुनुपर्ने र चैत १७ सम्म आयोजनाको पूर्वी र पश्चिम खण्डको सबैमा एकतर्फी कालोपत्र गर्नुपर्ने अल्टिमेटम दिइएको छ।
सडक विस्तार आयोजना पश्चिम खण्डका अनुसार पटक पटक म्याद थप गर्दा समेत योजना अनुसार काम नभएपछि चेतावनीसहितको पत्र पठाइएको हो।
२०७९ साउनमा निर्माण सम्पन्न गर्नेगरी ०७५ चैतमा सडक विस्तारको काम सुरु भएको थियो। समयमा काम नसकिएपछि पहिलो पटक २०८० साउन ११ सम्मका लागि म्याद थपिएको थियो । दोस्रो पटकका लागि २०८१ साउन ८ सम्म थप गरेको थियो र दोस्रो पटक पनि पूरा नभएपछि तेस्रो पटकका लागि ०८२ साउन ८ सम्म म्याद थप भएको छ ।