काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–नारायणगढ सडकखण्ड विस्तारमा भइरहेको ढिलासुस्तीका विषयमा छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीले आज बिहान साढे ११ बजे सरोकारवाला मन्त्री, कर्मचारी र जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गर्ने भएका हुन्।
रूपन्देही, पश्चिम नवलपरासी, पूर्वी नवलपरासीका प्रतिनिधि सभा सदस्य, पालिकाका प्रमुख र जिल्ला समन्वय समितिका प्रतिनिधिहरु समेतलाई बोलाएर खास समस्या के हो भन्ने बारेमा छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकार र परामर्शदाता कम्पनीले सडक विस्तार कार्य ढिलाइ गरेको भन्दै निर्माण कम्पनीलाई ठेक्का तोड्नुअघिको प्रक्रियाका रूपमा दिनुपर्ने अन्तिम चेतावनीस्वरूप नोटिस टु करेक्ट(एनटीसी) पठाएको छ। पटक पटक म्याद थप गर्दा समेत निर्माण कार्य अगाडी बढ्न नसकेपछि उक्त सडकखण्ड अहिले सबैको चासोको विषय समेत बनेको छ।