काठमाडौं। माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको तीन महिनाको खुद नाफा ६३ करोड भन्दा बढी रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको हो।
कम्पनीले गत आर्थिक वर्ष असार मसान्तसम्म २ अर्ब ५६ करोड रुपैयाँ नोक्सानी ब्यहोरेको थियो। त्यस्तै गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३६ प्रतिशत घटेको छ ।
कम्पनीको विद्युत् बिक्री आम्दानी घटेको छ । यस्तो आम्दानी गत आवको पहिलो त्रैमासमा ३ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा चालु आवको पहिलो त्रैमासमा २ अर्ब ९३ करोड छ । ४५६ मेगावाटको आयोजनामा गत असोजको बाढीले असर पारेपछि विद्युत् उत्पादनमा आएको अवरोधले आम्दानी घटेको हो ।