काठमाडौं। सुनसरीको देवानगंज–६ हुँदै इनरुवा–४, हनुमान चोक पुग्ने सडकको निर्माण कार्य सुरु गर्न कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले पहल थालेका छन्।
शुक्रबार मन्त्री राई नेतृत्वको टोलीले सडकको सुरुवात बिन्दु रहेको देवानगञ्ज–६ को चमनिया पोखरीमा सार्वजनिक सुनुवाइ गर्दै सडक निर्माण कार्य सुरु गर्न पहल गरिएको हो।
चमनिया पोखरी देवानगंज–६ बाट सुरु हुने साढे १० किलोमिटर सडक निर्माणको लागि २०८० वैशाख ५ गते ३२ करोड ८३ लाखमा तीन वर्षमा सक्ने गरी पूर्वाधार विकास कार्यालय मोरङले ठेक्का लगाएको थियो। कार्यालयका अनुसार सडक निर्माणको हालसम्मको वित्तीय प्रगति ३२ प्रतिशत र भौतिक प्रगति ३४ प्रतिशत मात्र रहेको छ। यहाँ निर्माण व्यवसायी र स्थानीयबिच विवाद हुँदा निर्माण कार्य अवरुद्ध हुँदै आएको छ।
सार्वजनिक सुनुवाइमा पूर्वाधार विकासमन्त्री राईले आफ्नो मन्त्रालयको टिम नै आएर फिल्डमै समस्या समाधान गर्न प्रयास गरेको बताए।