काठमाडौं। ललितपुरको पाटन दरबार परिसरमा रहेको भीमसेन मन्दिर अगाडि ढल खन्ने क्रममा लिच्छविकालीन शिलालेख भेटिएको छ। गत सोमवार भेटिएको शिलालेखको प्रारम्भिक अध्ययनमा राजा अंशुवर्माकालीन भएको पाइएको छ।
१५ पङ्क्तिको उक्त अभिलेख हाल पुरातत्त्व विभागको संरक्षणमा रहेको छ। यसैगरी लिच्छवि लिपि र प्रौढ संस्कृत भाषामा लेखिएको शिलालेखको माथिल्लो भागमा दायाँ–बायाँ श्रावक मृग र बीचमा गुडेको धर्मचक्र चिह्न कुँदिएको छ। शिलालेखमा राजा वृषदेवले बनाएको बिहारको उल्लेख गरिएको र यो हालसम्म पाइएको रोचक तथ्य भएको पनि लिपिविज्ञले जानकारी दिएका छन्।
सो अभिलेख ८५ सेन्टिमिटर लम्बाइ र ५२ सेन्टिमिटर चौडाइको रहेको छ। यसैगरी ३२ वर्षअघि गोकर्णको बालुवा गाउँमा पनि संवत् ५३६ द्वितीय पुसको अभिलेख भेटिएको थियो। यी दुई शिलालेखलाई दाँजेर त्यस बेलाका धेरै ऐतिहासिक कुरा पत्ता लगाउन सकिने लिपिविज्ञको भनाइ छ।