काठमाडौं। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक खोलिएको छ। गुर्जा जोड्ने सडक योजनाको गत वर्ष भएको ठेक्का सम्झौतामार्फत लुलाङबाट देउरालीसम्मको ६ किलोमिटर मार्ग खोलिएको हो।
लुलाङ–गुर्जा सडक योजनाका लागि गत आर्थिक वर्षमा सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले दुई–दुई करोडका दरले बजेट विनियोजन गरेको थियो।
उक्त सडक योजना निर्माणका लागि रारा तेन्जिन कन्ट्रक्सनले तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो। देउरालीसम्म सडक मार्ग खुलेसँगै अब जिप, ट्रयाक्टर, मोटरसाइकल लगायतका सवारी साधन सञ्चालनमा सहज भएको छ। साथै सडक यातायात सुविधा भएपछि आवतजावतका साथै ढुवानीमा सहज भएको स्थानीयको भनाइ छ।