काठमाडौं। नेपाल एयरलाइन्सले अन्तरराष्ट्रिय उडानमा ५ हजारसम्म छुट दिने भएको छ। निगमले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै अन्तरराष्ट्रिय सेक्टरको भाडादरमा ५ हजार रुपैयाँसम्म छुट दिने जनाएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशनपछि भाडादर घटाइएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निगमले कतारको दोहा, संयुक्त अरब इमिरेट्स (युएई)को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्याण्डको बैंकक र जापानको नारिताको भाडादरमा ५ हजार रुपैयाँसम्म छूट दिने प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। त्यसैगरी भारतका दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको भाडादरमा २ हजार ५०० रुपैयाँसम्म छूट दिने उल्लेख गरिएको छ।