काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–१६ मा निर्माणाधिन क्रिकेट रंगशालाको लाइन काटिएको छ। लामो समयदेखि विजुलीको बिल नतिरेपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले धुर्मुस सुन्तली फाउन्डेसन र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटिदिएको हो।
फाउण्डेशनले आठ लाख ८७ हजार रुपैयाँ बक्यौता प्राधिकरणलाई तिर्न बाँकी छ। रंगशालाको लागी फाउण्डेशनले लिएको विद्युतको बक्यौता रकम नतिरेपछि लाइन काटिएको हो।
यसैगरी मदिरा उत्पादक कम्पनी माउन्ट एभरेस्ट ब्रुअरीले ३७ लाख ४१ हजार ३ सय १७ रुपैयाँ तिर्न बाँकी छ। बुधबार मात्र १२ वटा फर्म तथा संघसंस्थाको विद्युत लाइन काटिए हो।
विद्युतको लाइन काट्न गएका प्राधिकरणका कर्मचारीहरुलाई माउन्ट एभरेस्ट ब्रुअरी उद्योग परिसरमा प्रवेश गर्न नदिई तीन जना चौकीदार लगाएर लखेट्ने प्रयास गरिएको प्राधिकरणले जनाएको छ।
उद्योगभित्र पसेर लाइन काट्न नदिएपछि उद्योगको कम्पाउण्डबाहिर नै जम्पर खोलेर लाइन काटिएको प्राधिकरणले बताएको छ।