काठमाडौं। पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वीखण्डको म्याद थप गरिएको छ। विभिन्न कारणले काम प्रभावित भइ निर्धारित समयमा निर्माण कार्य पूरा नभएपछि पाँच महिनाको म्याद थप गरिएको हो।
यसअघि पनि पाँच महिनाको म्याद थप गरिएको थियो। निर्धारित समयमा काम नसकिएपछि दोस्रो पटक गरी फागुन १ गते सम्मको म्याद थपिएको छ। यस खण्डमा हालसम्म समग्र भौतिक प्रगति ६८ प्रतिशत पुगेको छ।
सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन कठिन हुनु, निर्माण आरम्भमा ढिलाइ गर्नु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, रुख कटान आदेश ढिलो गरी प्राप्त हुनु, विद्युत् लाइन, खानेपानीका पाइप सार्न समस्या हुनु लगायतले काम प्रभावित हुँदै आएको थियो।
सदरमुकाम दमौलीमा सडक सीमाभित्र रहेका घर भत्काउन ढिलाइ भएकाले पनि काम प्रभावित भएकाले म्याद थप्नु परेको आयोजनाले जनाएको छ ।