काठमाडौं। तनहुँको मादी नदीमा पुल निर्माण कार्य करिब आधा सम्पन्न भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदी माथिको पुल निर्माणको काम हालसम्म ४५ प्रतिशतभन्दा बढी पूरा भएको हो।
अहिलेसम्म पुलको दुई सय वटा पाइल र ७ वटा पिल्लरमध्ये ५ वटा पिल्लर निर्माणको काम सम्पन्न भएको छ भने अहिले सुपर स्ट्रक्चरको काम भइरहेको छ।
पुल निर्माण कार्य समयमै पूरा गर्नेगरी तीव्र गतिमा काम भइरहेको आयोजनाले जनाएको छ।
तीन वर्षभित्र सम्पन्न गर्नेगरी उक्त पुल निर्माणका लागि सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोडमा जेडआइष्ट अन्नक जेभीसँग ठेक्का सम्झौता भएको थियो।
तीन सय १५ मिटर लामो उक्त पुल पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको हुनेछ।