काठमाडौं। कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्र गर्न स्थानीयले माग राखेका छन्। सडक तत्काल कालोपत्र गर्न माग गर्दै स्थानीयले सडक अवरोध गरेका हुन्।
सडक कालोपत्र नहुँदा वर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेकाले धेरै सास्ती भएको स्थानीयको गुनासो छ। धुलाका कारण बुढाबुढी र केटाकेटी विरामी समेत परेको उनीहरुको भनाइ छ।
सडकमा उड्ने धुलोले आफ्नै घरमा समेत बस्न नसक्ने अवस्था भएको भन्दै स्थानीयले सडक कालोपत्र अगाडि बढाउन माग गरेका छन्। यदि तत्काल सडक कालोपत्र हुन नसके जसरी हुन्छ धुलो उड्न बन्द गर्नुपर्ने उनीहरुको भनाइ छ।
सुदूरपश्चिमको गौरवको योजनामा समावेश गरिएको कलुवापुर–बेलौरी सडकको कलुवापुरबाट बन्साह खण्डसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लामो समयदेखि कालोपत्र हुन सकेको छैन ।