काठमाडौं। पाँच पटक म्याद थप्दा पनि भारतीय निर्माण कम्पनीले नगरेको सडक विस्तारको काम नेपाल सरकारले आफैं गर्ने भएको छ। दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारको काम नेपाल सरकार आफैंले गर्ने भएको हो।
सडक विस्तारका लागि सरकारले करिब चार अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयले मंसिर ११ गते राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै बजेट सुनिश्चित भएको जानकारी गराएको छ।
सरकारले घोराही–तुलसीपुर सडक खण्डलाई चार लेनमा विस्तार गर्न ३० महिनाभित्र काम सम्पन्न गर्नेगरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रासँग २०७५ सालमा ठेक्का सम्झौता गरेको थियो। उसले पेटी ठेकेदार मार्फत् काम गराउँदै आएको थियो।
निर्माण कम्पनीले पाँच पटकसम्म म्याद थप्दा पनि काम नगरेपछि २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पालामा ठेक्का तोडिएको थियो।