दाङ। लामो समय बजेट अभावका कारण रोकिएको बैद्धिक गुरुकुल निर्माण कार्य सुरु भएको छ। दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव धार्मिक धाम धारापानीमा बैद्धिक गुरुकुल निर्माणको काम सुरु भएको हो।
गुरुकुलको हालसम्म दुई तलासम्मको लागि पिलर उठाइएको छ भने करिब डेढ तलासम्म ढलानको काम सकिएको छ। तीन करोडको लागत स्टिमेट रहेको गुरुकुल निर्माणमा अहिलेसम्म एक करोड बढी खर्च भइसकेको छ।
पाँच वर्षअघि गुरुकुल निर्माणको काम सुरु भए पनि बजेट अभावका कारण पूरा हुन सकेको थिएन। शिव महापुुराण सत्सङ्ग ज्ञान महायज्ञ एवम् शृङ्गारिक महा आरतीबाट करिब तीन लाख बचत भएपछि गुरुकुल निर्माणको काम सुरु भएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले जनाएको छ।