काठमाडौं। बुढीगण्डकी लगायतका विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत भएको छ। बिहीबारप्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सम्पन्न लगानी बोर्डको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको हो।
बोर्डको बैठकले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजनाका लागि ७० अर्ब, १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि २३ अर्ब ५९ करोड लगानी स्वीकृत गरेको छ।
त्यसैगरी बैठकले २१० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि ४७ अर्ब ५४ करोड लगानी स्वीकृतिको निर्णय गरेको छ।
बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी र सम्राट् सिमेन्ट कम्पनी प्रालिको म्याद थप गरेको छ । पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता ७५० मेगावाटबाट बढाएर आठ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय समेत भएको छ।