काठमाडौं। सप्तरीको राजविराज विमानस्थलबाट अब रात्रीकालिन उडान सुरु भएको छ। रात्रीकालिन उडानका लागि सोमबार साँझ बुद्ध एयरले परिक्षण उडान गरेको हो।
संघीय सरकारका पर्यटनमन्त्री बद्री पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह लगायतको उपस्थितिमा परीक्षण उडान गरिएको छ।
राजविराज विमानस्थलका प्रमुख ध्रुवराज श्रेष्ठका अनुसार लाइटिङसहित भौतिक पूर्वाधार र प्राविधिक रूपमा राजविराज विमानस्थल रात्रिकालिन उडानका लागि तयार भएको छ ।
राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले दैनिक नियमित उडान गर्दै आएको हो । बुद्धको ७२ सिटे जहाज दैनिक रूपमा दिउँसो काठमाडौंबाट यात्रु लिएर राजविराज उत्रने र यहाँबाट यात्रु लिएर काठमाडौं फर्किने गर्दै आएको छ।