काठमाडौं। जीटुजीमार्फत आए चीनले फुङलिङ–टिप्ताला भञ्ज्याङ सडक कालोपत्र गरिदिने भएको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र चीनको दिङ्जे काउन्टी पार्टी कमिटीका सचिव ताओ मिङजुन नेतृत्वको टोलीबीच भएको छलफलमा ताओले दुई सरकारबीच (जीटुजी) सहमति भए ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि टिप्ताला भञ्ज्याङसम्मको सडक कालोपत्र गरिदिने प्रस्ताव राखेका हुन् ।
शर्माको नेतृत्वमा प्रहरी नायब उपरीक्षक रवि रावल, सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जन, कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्वोलगायतको टोली सीमा बैठकका लागि दिङ्जे काउन्टी गएका थिए ।
शर्माले जीटुजीमार्फत आए आफूहरूले तत्काल काम थाल्नेगरी सडक कालोपत्र गरिदिने प्रस्ताव चीनले पटक/पटक गरेको बताए।कोरोना संक्रमणअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र त्यसअघि देवराज ढकाल सीमा बैठकका लागि दिङ्जे गएका थिए । डोरेन्द्रको पालामा दिङ्जे काउन्टीका प्रमुखले ओलाङचुङगोलासम्मको सडक कालोपत्र गरिदिने बताएका थिए । त्यसका लागि एक अर्ब रुपैयाँ छुट्याउने वचन पनि उनले दिएका थिए । त्यतिबेला चीनले जीटुजीको प्रस्ताव गरेको थिएन । अहिले संघीय सरकारबाट भए काम गर्ने प्रस्ताव चीनले गरेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।