काठमाडौं। पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको खटाङ क्षेत्रमा नेपालकै लामो तीनमुखे झोलुङ्गे पुल निर्माणका लागि शिलान्यास गरिएको छ। भेरी नदीले घेरिएको खटाङ टापुमा मुख्य पिल्लर स्थापना गरेर निर्माण गर्न लागिएको पुलको नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले शिलान्यास गरेका हुन्।
२०८३ असारभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा २१ करोड १९ लाख पाँच हजार ८५ रुपैयाँमा श्री गीता कन्स्ट्रक्सनले पाएको छ । पुल १.६० मिटर चौडाइ र ६५४.६० मिटर लम्बाइको हुनेछ । खटाङ टापुमा बन्ने टावरको उचाइ २५.२३ मिटरको हुनेछ ।
पुलको शिलान्यास गर्दै खड्काले धार्मिक एवं पर्यटकीय क्षेत्र खटाङ देशकै ठूलो धार्मिक क्षेत्र हुने बताए ।उनले बजेट मात्र ल्याएर नहुने कार्यान्वयन पनि उतिकै जरुरी रहेको भन्दै पुल निर्माणको काम समयमै सक्न निर्देशन समेत दिएका छन् ।