संखुवासभा। संखुवासभामा निर्माणाधीन मायाखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। मायाखोला हाइड्रो पावर कम्पनीले निर्माण गरीरहेको १४.९ मेगावाटको आयोजनाको काम ८० प्रतिशत पूरा भएको हो।
आयोजनाको बाँकी २० प्रतिशत काम पूरा गरेर आगामी चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ।
आयोजनाको सिभिल संरचनाको काम सकिएको छ भने उपकरण जडानको काम भइरहेको छ। आयोजनाको २२ सय मिटर मुख्य सुरुङ खन्ने काम पूरा भएर ढलानको काम पनि सकिएको कम्पनीले जनाएको छ।
आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत कोसी कोरिडोरको तुम्लिङटार–इनरुवा खण्डको बानेश्वर सबस्टेसनमा जोडिनेछ। आयोजनाको विद्युतगृहबाट सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो। यो आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ।