काठमाडौं। ओर्लाङघाटस्थित दुधकोशी नदीमा अस्थायी ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको छ। गत साउनमा थामेमा आएको बाढीले मितेरी पुल बगाएपछि अवरुद्ध बनेको सडक शनिबारदेखि सञ्चालनमा आएको हो।
जिल्लाको माप्यदुधकोशी गाउँपालिका १ र सोलुदुधकुण्ड नगरपालिकाको सिमानामा रहेको ओर्लाङघाटस्थित दुधकोशी नदीमा अस्थायी ह्युमपाइप राखेसँगै ४ महिनापछि खुम्बु सडक मार्गमा जोडिएको छ । अस्थायी सडक खुलाउन ३ वटा स्थानीय तहले साझेदारी गरेका छन्।
ह्युम पाइप राखिने स्थानसम्मको सडक ट्र्याक खन्ने कार्यका लागि जग्गाको व्यवस्थापन सोलुदुधकुण्ड नगरपालिकाले गरेको छ। तीन किलोमिटर सडक खन्ने काम माप्यदुधकोशी गाउँपालिका र ह्युम पाइप राख्ने काम खुम्बु पासाङ ल्हामु गाउँपालिकाले गरेको छ।