काठमाडौं। सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडकखण्डको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग अन्तर्गतको १६१ मिटर लामो दोस्रो सुरुङ पनि छिचोलिएको छ। आयोजना अन्तर्गतको दोस्रो बाइपास सुरुङ सोमबार छिचोलिएको हो।
दोस्रो सहायक सुरुङ छिचोलिएसँगै आयोजनाको तीन वटै सहायक सुरुङ छिचोल्ने काम सम्पन्न भएको छ। यसअघि तेस्रो बाइपास भदौ २६ गते र पहिलो बाइपास असोज ४ गते छिचोलिएको थियो ।
मुख्य सुरुङको कुल लम्बाइमध्ये अब ७५ मिटर मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ। आयोजनाको कुल भौतिक प्रगति ३७ प्रतिशत रहेको छ। आयोजनाको मुख्य सुरुङ फागुनको पहिलो साताभित्र छिचोलिने गरी काम भइरहेको आयोजनाले जनाएको छ।