सांकेतिक तस्बीर
काठमाडौं। इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको हेभीखोलामा बेलिब्रिज हालिने भएको छ। गत असोज दोस्रो साताको बाढीका कारण क्षतिग्रस्त बनेको हेभीखोलाको पुल भएको ठाउँमा बेलिब्रिज राखिने भएको हो।
गत असोज दोस्रो साता कुलेखानी भरिएसँगै ओभरफ्लो रोक्न गेट खोल्दा हेभीखोलाको पुलमा क्षति पुगेको थियो । तत्कालीन समयमा चाडपर्व भएका कारण खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको थियो । ड्यामबाट क्षति पुगेको उक्त पुल तत्कालन सञ्चालन गर्न नसकिने निष्कर्ष निकाल्दै प्रदेश सरकारले बेलिब्रिज हाल्ने निर्णयमा पुगेको हो ।
वाग्मती प्रदेश सरकारको विपद् व्यवस्थापन कार्यकारी समितिको वैठकले तत्काल उक्त स्थानमा बेलिब्रिज हाल्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार भीमफेदी गाउँपालिका–६ स्थित माण्डु खोलामा रहेको बेलिब्रिज निकालेर उक्त स्थानमा तत्काल हाल्ने निर्णय बैठकले गरेको छ । माण्डु खोलमा पक्की पुल निर्माण भएसँगै बेलिब्रिज प्रयोगमा आएको छैन ।