काठमाडौं। काठमाडौं उपत्यकामा १५ किलोमिटर साहसिक साइकल ट्रेल निर्माण भएको छ। नेपाल पर्यटन बोर्डले विभिन्न दातृ निकायहरुको सहयोगमा किर्तिपुर–चन्द्रागिरी साहसिक साइकल ट्रेल निर्माण गरी सञ्चालनमा ल्याएको हो।
साइकल ट्रेलको पूर्वमन्त्री तथा सांसद राजन कुमार केसीले बिहीवार उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बोल्दै केसीले कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको समयमा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुका साथै विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माणलाई थप टेवा दिएको बताए।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभाव न्युनिकरण गर्न र पर्यटन पुनरुत्थानका लागि बोर्डले निरन्तर पहल गरिहको बताए।
बोर्डले संयुक्त राष्ट्रसघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाअन्र्तगत किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा साहसिक साइकल ट्रेल निर्माण भएको हो। किर्तिपुर नगरपालिका ४ र चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ मा निर्माण गरिएको उक्त ट्रेल बोसनडाँडादेखि चन्द्रागिरी केवलकारको वेस स्टेशनसम्म रहेको छ।
यो परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर र युएनडिपीका तर्फबाट १० लाख ५० हजार गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ। पर्यटन क्षेत्रका करिब ६ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पुर्याउने परियोजनाको लक्ष्य छ।