काठमाडौं। विपद् प्रभावित सडक तथा पूर्वाधार पुनः निर्माण गर्न बागमती प्रदेश सरकारले १५ करोड बढी रकम उपलब्ध गराउने भएको छ। बागमती प्रदेश सरकारको शुक्रबार बिहान बसेको बैठकले विपद् प्रभावित प्रादेशिक सडक तथा पूर्वाधार निर्माणका लागि १५ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
बैठकले विपद् प्रभावित हेटौँडा काठमाडौँ सडकका लागि ११ करोड २५ लाख रुपैयाँ र प्रदेशका अन्य सडक तथा पूर्वाधार मर्मतका लागि ४ करोड रुपैयाँ बजेट व्यवस्था गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले कुलेखानी सिस्नेरी सडक मर्मतका लागि ५० लाख रुपैयाँ, कुलेखानी महालक्ष्मी खोला फाखेल खण्ड मर्मतका लागि २५ लाख रुपैयाँ बजेट व्यवस्था गर्ने भएको छ भने सिमखोलमा बेलिब्रिज राख्न २ करोड रुपैयाँ, सिस्नेरी खण्डको सडक पुनः निर्माणका लागि ६ करोड रुपैयाँ र सिस्नेरी छैमले खण्डको सडक पुनः निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ व्यवस्था गर्ने निर्णय गरेको छ।
बैठकले उक्त बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध र विषयगत मन्त्रालयको बजेटबाट व्यवस्था गर्ने निर्णय गरेको छ। बिहीबार सम्पन्न प्रदेश विपद् परिषद्को बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव गरे अनुसारको बजेट व्यवस्था गर्ने निर्णय गरेको हो ।