काठमाडौं। भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको ‘मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५’ उद्घाटन गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुन्दुम पदमार्गको उद्घाटन गरेका हुन्।
मन्त्री पाण्डेले मुन्दुम पदमार्ग कोसी प्रदेश पर्यटन विकास तथा विस्तारमा अत्यधिक सम्भावना बोकेको र पदयात्राका लागि सहज पनि भएको बताए । उनले भने, ‘यो पदमार्गले किराँती र मुन्दुम संस्कृति संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारमा उल्लेख्य योगदान गर्छ। यस पदमार्गको बीचमा थुप्रै पर्यटकीय र किराँती संस्कृतिसँग जोडिएका स्थान छन् । यसले यो पदमार्गको महत्त्व अझ बढाएको छ ।’
झन्डै १ सय किलोमिटर दुरीको यो पदमार्गमा अधिकांश किराँत समुदायका बस्ती छन् । ‘मुन्दुम’ मा उल्लेखित किराँती जीवनशैली, संस्कार र संस्कृतिसँग जोडिएका स्थान भएकाले यो पदमार्गको नाम ‘मुन्दुम’ राखिएको हो । मुन्दुम पदमार्ग एक भए पनि संस्कृति र पर्यटनलाई सँगसँगै जोडेको मन्त्री पाण्डेले बताए।