काठमाडौं। उद्योग व्यवसायीहरुले मेची राजमार्ग अन्तर्गत पर्ने इलामको राजदुवाली–भञ्ज्याङ सडकको मर्मत गर्न माग गरेका छन्। इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौड्याल को नेतृत्वको उद्योगी–व्ययवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत सरकारलाई सडक मर्मतका लागि ध्यानाकर्षणपत्र बुझाएका हुन्।
बर्खायाम सुरु हुनअगावै मेची राजमार्ग वा वैकल्पिक मार्गलाई तयारी गर्न सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष पौड्यालले बताए । पूर्वी पहाडलाई जोड्ने ‘लाइफ लाइन’ सडकका रुपमा रहेको मेची राजमार्गको बिग्रिएको स्थानमा आकाशे पानी पर्नासाथ यातायात अवरुद्ध हुनेगर्छ । त्यही कारण समयमै सडक बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत यो विषयमा ध्यानाकर्षण गराइको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष पौड्यालले जानकारी दिए।
गत असोज दोस्रो साताको अविरल झरीपछि मेची राजमार्गको राजदुवालीमाथिको भागमा पहिरो गएपछि करिब दुई साता यो खण्डबाट यातायातका साधन चल्न नसक्दा इलाम, पाँचथर र ताप्लेजुङकै जनजीवन प्रभावित भएको थियो । करोडौं रुपियाँ खर्चंदा पनि सडक बग्नेक्रम नरोकिएपछि यो खण्डको वैकल्पिक सडक बनाउनु पर्ने बाध्यता छ ।