काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र गृहमन्त्री रमेश लेखकले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र गाइडबन्डको निरीक्षण गरेका छन्। शनिबार मन्त्रीद्वय दाहाल र लेखकले ६ महिनादेखि निर्माणको काम रोकिएको उक्त पुलको निरीक्षण गरेका हुन्।
मन्त्री लेखकले भदौ अन्तिम साता महाकाली नदीमा आएको भीषण बाढीले बगाएको गाइडबन्डसँगै सम्भावित क्षतिबारे समेत दाहालको ध्यानाकर्षण गराए । उनले भने, ‘गाइडबन्ड पनि बलियो गर्नुपर्यो, पहुँच मार्ग पनि बलियो बनाएर जेठभित्रै कम्प्लिट हुने वातावरण बनाउनुपर्यो। यदि त्यसो भएन भने पुलबीचमा रहन्छ, बस्ती पनि जोखिममा पर्छ।’
उनले पुलको योजना फेल भएमा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहको योजना पनि फेल हुन सक्ने जानकारी गराए ।
मन्त्री दाहालले यस विषयमा आवश्यक छलफलपछि निर्णय गर्ने बताए। उनले यसबारे अध्ययन गर्नकै लागि मन्त्रालयको टिम नै निरीक्षणमा आएको बताए।
महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र गाइडबन्डको काम ६ महिनादेखि बन्द छ । पुलको दुवैतर्फ निर्माण गरिएको गाइडबन्डको नयाँ डिजाइनको भेरिएसन नभएका कारण काम रोकिएको हो ।
निर्माण कम्पनीले पटक–पटक आग्रह गर्दा पनि भेरिएसन हुन सकेको छैन । पछिल्लो पटक पहुँच मार्गमा अवरोधसमेत गरेको छ । समयमै भेरिएसन हुन नसके गाइडबन्ड निर्माण हुन नसके पहुँच मार्गसँगै पक्की पुलसमेत जोखिममा पर्ने देखिन्छ ।