काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरी पुनर्निर्माणको काम आफूले थाल्दा विभिन्न आरोप–प्रत्यारोप आएको बताए।
रानीपोखरी हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले पुनर्निर्माण थाल्दा आफूमाथि रानीपोखरी बेचेर खाएको भन्ने आरोप लागेको बताए।
उनले भने, ‘रानीपोखरी पुनर्निर्माणको काम २०७२ सालमै महानगरपालिका आफैंले शुरु गरेको थियो। २०७४ सालमा आएपछि हामीलाई आरोप–प्रत्यारोप गर्ने काम भयो। मेयरले रानीपोखरी बेचेर खायो भन्ने आरोप पनि आयो।’
मेयर शाक्यले रानीपोखरी पुनर्निर्माणको काम २०७२ सालमै महानगरपालिका आफैंले थालेको भएपनि पछि आरोप–प्रत्यारोपका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको बताए।
उनले अहिले बनिरहेको रानीपोखरी आफूहरूको डिजाइन र सर्त अनुसार नै बनेको बताएका छन्। शाक्यले मन्दिर गुम्बज शैलीमा बनाउने भनिए पनि त्यसको ऐतिहासिक र पुरातात्त्विक महत्त्वलाई ध्यानमा राखेर इतिहासको खोजी गरी महानगरपालिकाकै प्रयासमा ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरेको बताए।
रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरीको स्वामित्व काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ।