काठमाडौं। सिद्धार्थ राजमार्गको तिनाउ–५, हिउँदेखोला क्षेत्रको पहिरो रोकथाम गरी भासिएको सडक निर्माण गर्न सुरु गरिएको छ। पहिरो रोकथाम र तल्लो क्षेत्रमा भासिएको सडक जोगाउन ग्याबिन जाली पर्खाल, नाली निर्माण, बायो इन्जिनियरिङ प्रविधिबाट सबबेस बनाउने काम सुरु गरिएको हो ।
तीन वर्षअघिदेखि हिँदेखोला क्षेत्रको करिब एक सय मिटर सडकमा माथिबाट पहिरो खसेको थियो। उक्त स्थानमा तल्लो क्षेत्रबाट पनि सडक भासिएर सडकको भाग कटान भइरहेको छ । माथिबाट पहिरो र तलबाट कटान भइरहेको सडकमा लामो समयदेखि जोखिमपूर्ण यात्रा हुँदै आएको थियो।
अहिले माथिबाट खसेको पहिरो रोक्ने र तल्लो क्षेत्रको सडक भासिनबाट रोक्ने गरी काम भइरहेको छ । सडकको भित्री भागमा पानी जमेको र त्यसलाई प्वाल बनाएर सडकको भित्री भागबाट पानी निकाल्ने व्यवस्था गरिने बताइएको छ।
यो वर्ष पहिरो र भासिने सडकको जोखिम रोक्न मात्र काम हुने र अर्को वर्षको बर्सातपछि अवस्था हेरेर मात्र त्यस क्षेत्रमा कालोपत्रेको काम गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।