काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रमा लगानी बढाउन दातृ निकायलाई आग्रह गरेका छन्। मंगलबार दातृनिकायका प्रमुख एवं प्रतिनिधिसँगको छलफलमा ऊर्जामन्त्री खड्काले यस्तो आग्रह गरेका हुन्।
उनले नेपालमा सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका सरकारले ‘ऊर्जा विकास मार्गचित्र–२०८१ स्वीकृत गरेसँगै लगानी जुटाउन दातृनिकायसँग छलफल गरेका छन्। छलफलमा मन्त्री खड्काले उक्त मार्गचित्र ऊर्जा सुरक्षा, दिगोपन र समावेशी आर्थिक वृद्धिलक्षित रहेको र यसबाट विद्युत् उत्पादनसँगै अन्तरदेशीय प्रसारण लाइनको विकासमा विशेष ध्यान दिएको बताए । जलस्रोतको पर्याप्त सम्भावना भएकाले नेपालले ऊर्जा क्षेत्रमा लगानीका लागि अतुलनीय अवसर प्रदान गर्ने समेत उनले बताए।
छलफलमा जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले सरकारले राखेको ऊर्जा विकासको मार्गचित्रको लक्ष्य पूरा गर्न दातृ निकायको ठुलो साथ र सहयोग आवश्यक रहेको बताए।
छलफलमा एसियाली विकास बैङ्कका देशीय निर्देशक आर्नो कोस्वाँले मार्गचित्रको लक्ष्य पूरा गर्न आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।