काठमाडौं। राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ आज ब्रेक थ्रु गरिने भएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिने भएको हो।
‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाललगायत उपस्थित हुने कार्यक्रम छ ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो ।
यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ ।
यसअघि नै तीन वटा बाइपास सुरुङ मुख्य सुरुङसम्म जोडिएको छ । बाइपास सुरुङ–३ को गत भदौ २६ मा, बाइपास सुरुङ–१ को असोज ४ मा र बाइपास सुरुङ–२ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास–१५१, २६१ र ३३० मिटर टनेल छन् । दक्षिणतर्फ ६०८ र उत्तरतर्फ ४७९.५ मिटर सुरुङ खनिएको छ । आयोजनाका अनुसार ‘ब्रेक थ्रु’ समारोह हुने दिन आज साढे एक मिटर भागलाई विस्फोट गरिने छ ।
सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।