काठमाडौं। म्याग्दीको धवलागिरि गाउँपालिका–४ खिवाङको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएको छ। नवनिर्मित झोलुङ्गे पुलको बिहीबार धवलागिरिका उपाध्यक्ष रेशम पुनमगरले उद्घाटन गरेका हुन्।
धवलागिरि गाउँपालिका, उपभोक्ता र झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम (स्वाप)को सहकार्यमा ५७ लाख ५२ हजार लागतमा पुल निर्माण सम्पन्न भएको हो।
पुल निर्माणका लागि गाउँपालिकाले सात लाख ४९ हजार ९२ आर्थिक सहयोग गरेको छ भने उपभोक्ताले एक लाख १५ हजार बराबरको श्रमदान गरेको पालिकाले जनाएको छ। स्वाप कार्यक्रममार्फत लठ्ठा, बुल्डअफ ग्रिप, निर्माण सामग्री खरिद, ढुवानी, मजदुरको ज्याला र गैरसरकारी संस्थाको सेवा शुल्कका लागि रू ४८ लाख ८८ हजार दुई सय ५१ बराबरको सहयोग भएको बताइएको छ।
हाडेभिर–खारा जोड्ने एक सय एक मिटर लामो झोलुङ्गे पुलबाट धारापानी, खारा, बिम, इल्पुका एक सय ७४ घरका एक हजार दुई सय ३३ मानिस लाभान्वित भएका छन्।