काठमाडौं। रानीघाट–तेलपानी–भुरीगाउँ सडकखण्ड अन्तर्गत मूलपानी–फलाटे–रानीघाट सडक स्तरोन्नतिसहित कालोपत्रेका लागि टेन्डर आह्वान गरिएको छ। कर्णाली प्रदेश राजधानीलाई अन्तरप्रदेश जोड्ने सबैभन्दा छोटो वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माण गर्न टेन्डर आह्वान गरिएको हो ।
कर्णाली प्रदेश सरकारले प्राथमिकतामा राखेको यो सडक निर्माणका लागि माघ ४ गते ठेक्का आह्वान गरिएको हो। ३० दिनभित्र आवेदन दिने समय तोकिएको छ ।
उक्त खण्डमा सात किलोमिटर खडक निर्माण गर्न बजेटको स्रोत सुनिश्चित गरेर टेन्डर आह्वान गरिएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । सात किलोमिटर सडक निर्माणका लागि ३२ करोडको स्रोत सुनिश्चित भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि यो सडक निर्माण योजना अघि बढाएको थियो। सडक निर्माणको काम भने आव २०७६/७७ देखि सुरु गरियो । दुई खण्डमा विभाजन गरेर सडक निर्माणको काम अघि बढाइएको भए पनि अहिलेसम्म निर्माणको काम सम्पन्न भएको छैन । सरकारले यो वर्ष पर्याप्त बजेट विनियोजन गरेर सडक निर्माणको कामलाई सम्पन्न गर्न लागेको हो ।